‘सुपरहिट’ नाइमा मोबिलिटी एक्स्पो: बुकिङ र अवलोकनकर्ता दुवैमा उत्साहजनक सफलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘सुपरहिट’ नाइमा मोबिलिटी एक्स्पो: बुकिङ र अवलोकनकर्ता दुवैमा उत्साहजनक सफलता



काठमाडाैँ । एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको छ दिने एक्स्पोमा अपेक्षाभन्दा बढी अवलोकनकर्ता सहभागी भएको आयोजकले जनाएको छ।

साउन २६ गते काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो साउन ३१ गते सम्पन्न भएको हो। आयोजकले छ दिनमा करिब डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेकोमा संख्या एक लाख ८० हजार नाघेको जनाएको छ।

एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। अन्तिम दिन पनि ३० हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पोमा पुगेको आयोजकले जनाएको छ।

एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्ड सहभागी भएका थिए भने विभिन्न कम्पनीले ५३ नयाँ मोडल सार्वजनिक गरेका छन्। विशेषगरी नयाँ विद्युतीय सवारी, दुईपाङ्ग्रे तथा अन्य प्रविधिमा आधारित मोबिलिटी उत्पादनले अवलोकनकर्ताको ध्यान तानेका थिए।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ नयाँ उत्पादन सार्वजनिक हुनुलाई एक्स्पोको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिन्।

“यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो,” उनले भनिन्, “एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने मात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो।”

एक लाख ८० हजारभन्दा बढी मानिसको सहभागिताले युवा संस्थाका रूपमा नाइमालाई थप उत्साहित बनाएको बताउँदै वैद्यले आगामी संस्करणलाई अझ ठूलो र व्यवस्थित बनाउने संकेत गरिन्।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको संख्या मात्रै नभई सवारीसाधनप्रतिको इन्क्वायरी र बुकिङ पनि अपेक्षाभन्दा राम्रो भएको बताए।

“सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ,” उनले भने, “हामी धेरै नै उत्साहित भएका छौँ।”

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ता आउनु समग्र अटो उद्योगका लागि सकारात्मक संकेत भएको बताए। त्यस्तै, नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको प्रतिक्रिया दिए।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमार्फत एक्स्पोलाई फरक स्वरूप दिने प्रयास गरिएको बताए। उनका अनुसार अवलोकनकर्ताबाट प्राप्त प्रतिक्रिया एक्स्पोको सफलताको महत्वपूर्ण सूचक बनेको छ।

सवारीसाधनको प्रदर्शनी र सार्वजनिकरणसँगै एक्स्पो अवधिभर ‘नाइमा मोबिलिटी संवाद’ पनि सञ्चालन गरिएको थियो। विभिन्न दिनमा लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी, मोबिलिटीको विकास, फाइनान्स तथा इन्स्योरेन्स, ब्याट्री रिसाइकलिङ तथा इथानोल ब्लेन्डिङ, एआई तथा अटोमोटिभ टेक्नोलोजीलगायत विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल भएको थियो।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण हो। स्वदेशी तथा बहुराष्ट्रिय सवारी उत्पादक, आयातकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाको एक्स्पोमा सहभागिता रहेको थियो।

प्रकाशित : 16 August, 2026 11:11 pm