सहकारी सञ्चालनमा बाधक कानुन संशोधनका लागि आवाज उठाउनुपर्छ : अध्यक्ष बल्ल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी सञ्चालनमा बाधक कानुन संशोधनका लागि आवाज उठाउनुपर्छ : अध्यक्ष बल्ल



भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडअन्तर्गतको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ।

होटल यचु, भक्तपुरमा आयोजित तालिमको समापन समारोहमा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी क्षेत्रमा गलत नियत भएका व्यक्तिहरूको प्रवेशका कारण समग्र सहकारी अभियान बदनाम भएको बताएका छन्। त्यसको असर समुदायमा आधारित रहेर राम्रोसँग सञ्चालन भइरहेका सहकारी संस्थाले समेत भोग्नुपरेको उनको भनाइ छ।

अध्यक्ष बल्लले केही सहकारी संस्थामा देखिएको विकृतिलाई आधार बनाएर सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्ने गरी राज्य नियन्त्रित कानुन निर्माण गरिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। सहकारीलाई सदस्य नियन्त्रित संस्थाका रूपमा विकास गर्नुपर्नेमा राज्य नियन्त्रित बनाउने खालका कानुनी प्रावधानले सहकारी सञ्चालनमा चुनौती थपेको उनले बताए।

“मौजुदा ऐन कानुनको पालना हामीले गर्नैपर्छ। तर सहकारी सञ्चालनमा बाधक हुने प्रावधान संशोधनका लागि विरोधका आवाज निरन्तर उठाइरहनुपर्छ,” अध्यक्ष बल्लले भने।

सहकारी संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीलाई एउटै ठाउँमा राखेर तालिम दिँदा संस्थागत क्षमता विकासमा थप प्रभावकारी हुने उनले बताए। एक जना सञ्चालक वा कर्मचारीलाई मात्र तालिम दिँदा अपेक्षित प्रभावकारिता हासिल हुन नसक्ने भन्दै उनले सामूहिक क्षमता विकासले सहकारीको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन तथा नियमअनुसार निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र सहकारी सञ्चालनसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने व्यवस्थालाई सहजीकरण गर्न तालिम आयोजना गरिएको जानकारी दिए।

उनले प्रत्येक सहकारी संस्थाले वार्षिक बजेटमै आवश्यक रकम विनियोजन गरी सञ्चालक, कर्मचारी तथा सदस्यहरूको क्षमता विकासका लागि नियमित तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

तालिममा संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको अवधारणा, विकासक्रम, अन्तर्राष्ट्रिय सिद्धान्त तथा यसको व्यावहारिक प्रयोगका विषयमा सहजीकरण गरेका थिए। उनले सञ्चालक समिति तथा विभिन्न उपसमितिको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएका थिए।

संघका प्रमुख कार्यकारी अधिकृत धोजुले सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली, प्रभावकारी बैठक सञ्चालन तथा निर्णय (माइन्युट) लेखनसम्बन्धी विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

तालिममा सहभागी केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजभाइ तज र छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशरण अवालले तालिम प्रभावकारी तथा समयसापेक्ष रहेको बताए। संस्थाहरूबीच लागत साझेदारी गरी न्यून लागतमा व्यवस्थित र गुणस्तरीय तालिम लिन पाएको उल्लेख गर्दै उनीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो संस्थाको दैनिक अभ्यासमा लागू गर्ने प्रतिबद्धता जनाए।

संघका कर्मचारी राजन कासिछ्वाले सञ्चालन गरेको तालिमको समापन कार्यक्रममा सदस्य सहकारी संस्थाका सञ्चालक, लेखा समिति पदाधिकारी तथा कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको थियो।

प्रकाशित : 16 August, 2026 4:54 pm