नाइमा एक्स्पोमा अनपेक्षित घुइँचो लागेपछि शनिबार रआइतबारकालागि विशेष तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा एक्स्पोमा अनपेक्षित घुइँचो लागेपछि शनिबार रआइतबारकालागि विशेष तयारी



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालेको छ । दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष तयारी थालेको हो ।

अन्य दिनभन्दा बिदाका दिनमा बढी अवलोकनकर्ता आउने अनुमान गरेको नाइमाले मूलत: पार्किङका लागि विशेष व्यवस्था मिलाएको जनाएको छ । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि पार्किङ स्थलको विशेष व्यवस्थापन गरिएको जानकारी दिए ।

‘सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भएर पनि पार्किङका लागि स्पेस अभाव भइरहेको थियो,’ उनले भने, ‘अवलोकनकर्ताको उल्लेख्य सहभागिता भएका कारण शनिबार र आइतबारका लागि हामीले पार्किङका लागि विशेष तयारी गरेका छौं ।’

एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो सुरु हुनुभन्दा अघिदेखि नै भृकुटीमण्डपको गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ । ‘एक्स्पो स्थल खुला हुने समय ११ बजे हो तर १० बजेदेखि नै अवलोकनकर्ता आइसक्नुभएको हुन्छ,’ उनले भने, ‘यो स्तरको आकर्षणले हामीलाई निकै उत्साहित बनाएको छ ।’

भक्तपुरको पुरानो ठिमीकी नवीना नकर्मीले पनि मेला स्थलमा आफूले अनुमान गरेभन्दा बढी मानिस पुगेको बताइन् । ‘म विगतका अटो मेलाहरुमा पनि आउने गरेको थिएँ,’ उनले भनिन्, ‘तर यति धेरै भीड अहिलेसम्म देखेको थिइन ।’ सवारीसाधनहरुको ब्रान्ड, फिचर र सुविधाका विषयमा राम्रो जानकारी राख्ने उनले अटो मेला अवलोकनमा आफ्नो विशेष रुचि रहने गरेको बताइन् ।

तेस्रो दिनसम्ममा १ लाख ८ हजारभन्दा बढीले मेलाको अवलोकन गरिसकेका छन् । उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले अवलोकन गरेकोमा आज ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ ।

दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ ।

नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।

कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।

मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नाइमा मोबिलिटी संवादमा आज Technical: Battery Recycle and Ethanol Blending in Fuel विषयमा छलफल भएको छ । आजको संवादको सहजीकरण लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले गरेका थिए भने भेइकल फिटनेस टेस्ट सेन्टरका सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठ, Management and Homologation Expert Prof. Dr. Balraj Bhanot, Lohum Cleantech Pvt. Ltd. India का Business Partnerships AGM Jatin Makkar, Automobile Industry and Mobility Sector Expert Akash Golchha, Association for Automobile and Mobility- JAAM Nepal का निवर्तमान अध्यक्ष सागर गजुरेल र ReBAT का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत Karan Khurana प्यानलिस्टका रुपमा सहभागी थिए ।

बिहीबारको नाइमा मोबिलिटी संवादमा Mobilizing Mobility through Finance & Insurance विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो । बुधबारको Learning Sessions मा ‘मोबिलिटी : हिजो आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन मंगलबार Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस -BOSCH_, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।

नाइमा मोबिलिटी एक्स्पोको को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।

प्रकाशित : 14 August, 2026 9:27 pm