नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले गरे अवलोकन, ४८ नयाँ प्रोडक्ट सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले गरे अवलोकन, ४८ नयाँ प्रोडक्ट सार्वजनिक



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन अडिटोरियम हलमा सुरु भएको एक्स्पोमा पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरेका हुन्।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता, आयातकर्ता तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीको सहभागिता रहेको छ।

आयोजकका अनुसार एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि बजारमा रहेका विभिन्न ब्रान्डका नयाँ मोडलसम्म प्रदर्शनीमा राखिएका छन्। विशेषगरी विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा नयाँ प्रविधिमा आधारित मोबिलिटी उत्पादन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।

एक्स्पो अवधिभर करिब डेढ लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा नाइमाले गरेको छ। पहिलो दिन नै २९ हजारभन्दा बढी आगन्तुक एक्स्पोमा पुगेपछि आयोजक उत्साहित बनेको छ।

‘मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याएका छौं’

एक्स्पोको उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पो सवारीसाधनको किनबेच र प्रदर्शनमा मात्र सीमित नभएको बताइन्। उनका अनुसार एक्स्पोले सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ।

उनले नेपालमा पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता बढाएको भन्दै दीर्घकालीन लगानीका लागि स्थिर नीति आवश्यक रहेको बताइन्। निजी क्षेत्र र अन्य सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन्।

उनका अनुसार अटोमोबाइल क्षेत्रमा दीर्घकालीन लगानी, नयाँ प्रविधिको प्रवेश र विद्युतीय सवारीसाधनको विस्तारका लागि नीतिगत स्थिरता महत्वपूर्ण छ।

अटोमोबाइललाई राजस्वको स्रोत मात्रै नमान्न आग्रह

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि मुख्यतः राजस्व संकलनको स्रोतका रूपमा हेर्दै आएको गुनासो गरे।

उनले अटोमोबाइललाई विलासी वस्तुको रूपमा मात्रै परिभाषित नगरी आवश्यकता र आर्थिक गतिविधिसँग जोडिएको क्षेत्रका रूपमा लिनुपर्ने बताए। नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये पर्ने भन्सार दर रहेको दाबी गर्दै उनले लगानी र व्यवसाय विस्तारका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

विद्युतीय सवारीसाधनका लागि पनि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ थियो। निजी क्षेत्र लगानी गर्न तयार भए पनि त्यसका लागि सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व प्रदान गर्ने क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषयमा मात्रै सीमित नरहेको बताए। उनका अनुसार मोबिलिटी क्षेत्र बैंकिङ, बीमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिसहित अर्थतन्त्रका विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गर्दै यसलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्रै नहेरी आर्थिक विकासको इन्जिनका रूपमा लिनुपर्ने बताए।

बिक्रीपछिको सेवामा ध्यान दिन प्रहरी महानिरीक्षकको आग्रह

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गर्नु मात्रै व्यवसायको दायित्व नभएको बताए। उनले सवारीसाधनको बिक्रीसँगै सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले सवारीसाधनका ब्रान्डले बिक्रीपछिको सेवामा विशेष ध्यान दिनुपर्ने बताए। सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात र दुर्घटनापछि तत्काल उद्धार तथा उपचारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका संघसंस्थाका पदाधिकारी, नाइमाका सञ्चालक तथा सदस्य संस्था, प्रदर्शनी साझेदार र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो।

पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक

एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरेका छन्। एक्स्पोमा कुल ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।

नयाँ विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा अन्य नयाँ प्रविधिमा आधारित उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिइएको छ। यसले नेपाली बजारमा प्रवेश गरिरहेका नयाँ प्रविधि र मोडललाई उपभोक्ताले एउटै थलोमा हेर्न र तुलना गर्न सक्ने वातावरण बनाएको छ।

एक्स्पोमा सवारीसाधनसँगै अटो कम्पोनेन्ट, चार्जिङ प्रविधि, सुरक्षा उपकरण तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादन र सेवा पनि प्रदर्शनमा राखिएका छन्।

लगानी र एफडीआईमा बहस

एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट : मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो।

पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

विदेशी लगानी, निजी क्षेत्रको लगानी विस्तार, वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा मोबिलिटी क्षेत्रको भूमिकाबारे छलफल गरिएको थियो। आयोजकका अनुसार पहिलो दिनको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीको सहभागिता रहेको थियो।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा लर्निङ सेसन, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियासहितका कार्यक्रम सञ्चालन हुनेछन्।

सडक दुर्घटनापछिको तत्काल उपचारबारे जानकारी

एक्स्पोमा सवारीसाधन र प्रविधिको प्रदर्शनीसँगै सडक सुरक्षासम्बन्धी कार्यक्रमलाई पनि समेटिएको छ। ग्रान्डी इन्टरनेसनल हस्पिटलले ‘बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स’ विषयमा जानकारीमूलक प्रस्तुति दिएको थियो।

सडक दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्‍याउनुअघि आवश्यक पर्ने प्राथमिक उपचार तथा तत्काल जीवनरक्षा प्रक्रियाबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

बैंक तथा बीमा कम्पनीका विशेष अफर

एक्स्पोमा सहभागी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारीसाधन खरिदकर्तालाई लक्षित गरी विभिन्न अफर तथा सहुलियत कर्जा योजना सार्वजनिक गरेका छन्।

यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई एउटै स्थानबाट सवारीसाधन, वित्तीय सुविधा तथा बीमा सेवाबारे जानकारी लिन सहज बनाएको छ।

एक्स्पोमा ग्लोबल आइएमई बैंक सह–प्रायोजकका रूपमा रहेको छ भने रेडबुल ‘पावर्ड बाई’का रूपमा रहेको छ। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन्।

त्यस्तै, बोस्च टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन्।

अक्वा मिनरल्स हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनर, भत्सल इम्पेक्स (हिकभिजन) सर्भिलियन्स पार्टनर र हिट्को फायर एन्ड सेफ्टी पार्टनर छन्।

आइएमई खल्ती को–टिकेटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर तथा डिजिपल सोलुसन्स डिजिटल पार्टनरका रूपमा रहेका छन्।

एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वल्र्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा सहभागी छन्।

६ दिनसम्म सञ्चालन हुने

दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा विद्युतीय सवारीसाधनसँगै विभिन्न प्रविधि, चार्जिङ पूर्वाधार, अटो कम्पोनेन्ट तथा मोबिलिटी सेवाको प्रदर्शनी भइरहेको छ।

आयोजकले एक्स्पोलाई सवारीसाधनको प्रदर्शनी र बिक्रीको थलोभन्दा माथि उठाएर नीति, प्रविधि, लगानी, वित्त, सुरक्षा र भविष्यको यातायात प्रणालीबारे छलफल हुने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

पहिलो दिनको उत्साहजनक सहभागिताले नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा उपभोक्ता चासो उच्च रहेको संकेत गरेको आयोजकको भनाइ छ। अबका दिनमा नयाँ मोडलको प्रदर्शन, सवारीसाधन खरिदका अफर तथा नीति र लगानीसम्बन्धी छलफल एक्स्पोका मुख्य आकर्षण बन्नेछन्।

प्रकाशित : 11 August, 2026 9:30 pm