जिल्ला सहकारी संघ काभ्रेको आगामी वर्षको नीति तथा बजेट सार्वजनिक, प्रविधि र उत्पादन बजारीकरणलाई प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जिल्ला सहकारी संघ काभ्रेको आगामी वर्षको नीति तथा बजेट सार्वजनिक, प्रविधि र उत्पादन बजारीकरणलाई प्राथमिकता



काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम, कार्ययोजना तथा बजेट सार्वजनिक गरेको छ।

संघले आगामी वर्ष संस्थागत सुदृढीकरण, प्रविधिको प्रयोग, सदस्य व्यवस्थापन, तालिम तथा क्षमता विकाससँगै उत्पादन प्रवर्द्धन र बजारीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

संघको सभाहलमा शनिबार, २०८३ श्रावण २३ गते आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादनको समीक्षा तथा आगामी वर्षको कार्यदिशा प्रस्तुत गरिएको हो।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा संघबाट सम्पन्न कार्यक्रम तथा गतिविधिको समीक्षा प्रस्तुत गरेका थिए। समीक्षा क्रममा संघले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रमको कार्यान्वयनमा शतप्रतिशत उपलब्धि हासिल भएको जानकारी गराइएको थियो।

डिजिटाइजेशनदेखि सदस्य व्यवस्थापनसम्म

आगामी आर्थिक वर्षका लागि सदस्य संस्थाहरूको अद्यावधिक विवरण संकलन तथा व्यवस्थापन गर्ने, बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित बनाउने र संघका संस्थागत कार्यमा डिजिटाइजेशनलाई प्राथमिकता दिने योजना प्रस्तुत गरिएको छ।

त्यसैगरी संघलाई तालिम तथा क्षमता विकासको हबका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। उत्पादन प्रवर्द्धन तथा बजारीकरणमा सहकारी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको संघले जनाएको छ।

कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अमन पोटे श्रेष्ठ र सल्लाहकार कमलप्रसाद कुईकेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। संघका सचिव प्रकाश बञ्जाराले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि सहभागीहरूले विभिन्न प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए। सहभागीका जिज्ञासामाथि अध्यक्ष श्रेष्ठ, सचिव बञ्जारा तथा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले आवश्यक स्पष्टता प्रदान गरेका थिए।

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो।

संघले आगामी आर्थिक वर्षमा सदस्य संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा सहकारी क्षेत्रको उत्पादन र बजारसँगको सम्बन्ध विस्तारमा केन्द्रित हुने जनाएको छ।

प्रकाशित : 9 August, 2026 10:39 am