काठमाडौं । कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ। उद्योगको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक उद्घाटन गरेका हुन्।

लम्कीचुहा नगरपालिका–४ मा आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले सहकारीमार्फत किसानलाई बिउ उत्पादनमा प्रोत्साहन र सहयोग गर्ने अभियान प्रशंसनीय भएको बताए। उनले गुणस्तरीय बिउको प्रशोधन र बजारीकरणबाट यस क्षेत्रका कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले उद्योग सञ्चालनसँगै किसानले उन्नत जातका धान, गहुँ, मकै र तोरीलगायत बालीका बिउ स्थानीय स्तरमै ग्रेडिङ, प्रशोधन र प्याकेजिङ गर्न सक्ने जानकारी दिए।
उनका अनुसार गुणस्तरीय बिउ सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउनुका साथै किसानले उत्पादन गरेको बिउ उचित मूल्यमा खरिद गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको हो।
१ करोड ४१ लाखभन्दा बढी लगानी
उद्योग स्थापना गर्न सहकारीले लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारसँग साझेदारी गरेको छ। हालसम्म उद्योगमा १ करोड ४१ लाख ३० हजार रुपैयाँ लगानी भइसकेको छ।
भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको छ भने मेसिनरी खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको संस्थाले जनाएको छ।
१४० बिघामा मूल बिउ उत्पादन
उद्योग सञ्चालनसँगै सहकारीले ४१ जना किसान र एक कृषि सहकारी संस्थासँग सहकार्य गर्दै १४० बिघा क्षेत्रफलमा धानको मूल बिउ उत्पादन सुरु गरिसकेको छ।
उद्योग सञ्चालनपछि सुदूरपश्चिमका किसानले गुणस्तरीय बिउका लागि बाहिरी बजारमा निर्भर हुनुपर्ने अवस्था घट्ने, स्थानीय उत्पादन प्रवर्द्धन हुने तथा रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।


Comment