काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले बैंकिङ समयभित्र उक्त ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्रमार्फत कुल ३ अर्ब रुपैयाँ बराबरको निष्काशन गरेको हो। १० वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।
कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको परिमाणमध्ये ६० हजार कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा आवेदन दिन न्यूनतम २५ कित्ता खरिदका लागि आवेदन दिनुपर्ने व्यवस्था छ भने अधिकतममा उपलब्ध सम्पूर्ण कित्टासम्म आवेदन दिन सकिनेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रका लागि केयर रेटिङ्स नेपालले बैंकलाई केयरएनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम सुरक्षित रहेको संकेत गर्छ।


Comment