काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। बैंकको खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन नाफा तथा लाभांश क्षमता अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर समीक्षा अवधिमा १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। यसले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बैंकको भनाइ छ।
सञ्चालन नाफा २५.२२ प्रतिशतले बढ्दै ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ थियो।
बैंकले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सक्ने वित्तीय आधार पनि थप बलियो बनाएको छ। नियामकीय समायोजनपछि असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा रहेको छ।
वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ६ खर्ब ३६ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो।
बैंकको ग्राहक निक्षेप १२.९५ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयरसमेत समावेश छ। सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिको अन्त्यसम्म बैंकको खराब कर्जा (एनपीएल) ४.२० प्रतिशतमा सीमित भएको छ भने नेट एनपीएल ०.५८ प्रतिशत कायम रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा पुगेको छ।
समग्रमा, नाफा, सम्पत्ति, निक्षेप, कर्जा विस्तार तथा लाभांश क्षमतामा देखिएको सुधारले नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा बलियो वित्तीय प्रदर्शन गरेको देखिएको छ। यसले आगामी वार्षिक साधारण सभाबाट शेयरधनीले आकर्षक लाभांश प्राप्त गर्ने सम्भावना पनि बलियो बनेको संकेत गरेको छ।


Comment