काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा ८६.१९ प्रतिशतले बढी हो।
यद्यपि बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २३ करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड २३ लाख रुपैयाँ, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिभर्सल भएको छ, जसले नाफा वृद्धिमा उल्लेख्य सहयोग पुगेको देखिन्छ। यससँगै बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो वर्षको सोही अवधिमा १०.६५ प्रतिशत रहेको एनपीएल घटेर ६.१५ प्रतिशतमा झरेको छ।
यद्यपि बैंकको रिटेन्ड अर्निङ ५५ करोड ८८ लाख रुपैयाँले अझै ऋणात्मक अवस्थामा रहेको छ। वितरणयोग्य मुनाफा पनि सोही रकमले ऋणात्मक रहेको छ। अर्कोतर्फ बैंकको रिजर्भ भने ३४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ।
व्यावसायिक कारोबारतर्फ बैंकले असार मसान्तसम्म ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँको तुलनामा वृद्धि हो। त्यसैगरी निक्षेप संकलन पनि ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य–आम्दानी (पीई) अनुपात ४०.४८ गुणा तथा पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको बैंकले जनाएको छ।


Comment