काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा कारोबार बन्द भइसकेपछि प्राविधिक गडबडी देखिएको छ। वेबसाइटमा नेप्से परिसूचक एक्कासी १,००८.९३ अंकले घटेर १,७१७.७९ बिन्दुमा पुगेको देखिएपछि लगानीकर्तामा केही समय अन्योल उत्पन्न भएको थियो।
यद्यपि, यो वेबसाइटको प्राविधिक त्रुटि भएको देखिएको छ। वास्तविक कारोबार परिणामअनुसार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.०१ बिन्दुमा बन्द भएको छ।
आज ३५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार ८०९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बराबरको कारोबार भएको छ। कारोबारमा सहभागी कम्पनीमध्ये १४३ कम्पनीको शेयर मूल्य बढेको, ११८ कम्पनीको घटेको तथा बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर को २७ करोड ३४ लाख रुपैयाँ र कुमारी बैंक को २५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा एभरेष्ट कलर का लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशत प्रतिफल कमाए। विपरीत, सानिमा बैंक डिबेञ्चर का इकाईधनीले सबैभन्दा धेरै ८.९२ प्रतिशत मूल्य घट्दा घाटा बेहोरे


Comment