काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा सुधार गर्दै खुद नाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ।
बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६७ करोड रुपैयाँ रहेको थियो। यससँगै बैंकको खुद नाफा वार्षिक आधारमा करिब ३३.५ प्रतिशतले बढेको देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८५ लाख रुपैयाँबाट बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब ७० करोड १३ लाख रुपैयाँबाट वृद्धि भएर २ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको वृद्धिसँगै सञ्चालन मुनाफा पनि १ अर्ब ४ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ थियो। यस अवधिमा बैंकको जगेडा कोषमा ६० करोड ११ लाख रुपैयाँ तथा अन्य रिजर्भमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गर्दा ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
वित्तीय सूचकतर्फ प्रतिशेयर आम्दानी (ईपीएस) १९.०८ रुपैयाँबाट बढेर २२.७५ रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जा (एनपीएल) ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ। बैंकको आधार दर (बेस रेट) भने ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ भने लाभांश क्षमता १५.१६ प्रतिशत कायम रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।






Comment