खेल पूर्वाधार विस्तारले नेपाललाई स्पोर्ट्स टुरिजम हब बनाउन सक्ने : दिपक थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

खेल पूर्वाधार विस्तारले नेपाललाई स्पोर्ट्स टुरिजम हब बनाउन सक्ने : दिपक थापा



काठमाडौं । खेल क्षेत्रका जानकार एवम अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्। कुराकानीका क्रममा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताए ।

नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् । थापाले नेपालमा खेलकुदलाई प्राथमिकतामा राख्न नसकिएको भन्दै खेलकुदलाई मनोरञ्जन मात्र नभई राष्ट्रको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए । 

‘खेलकुद सम्पन्न देशहरूमा प्राथमिकतामा पर्छ । हाम्रोजस्तो राष्ट्रमा पहिलो प्राथमिकता गाँस, बास र कपास हुन्छ । तर यसको अर्थ खेलकुद आवश्यक छैन भन्ने होइन,’ उनले भने, ‘नेपालमा ९० वर्षभन्दा अगाडिदेखि नै फुटबल, ब्याडमिन्टन र क्रिकेटका क्लबहरू स्थापना भइसकेका थिए। तर अहिले पनि व्यावसायिक खेलकुदका लागि आवश्यक पूर्वाधार र प्राथमिकता पर्याप्त छैन।’

उनले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार, सुरक्षा, होटल सुविधा र यातायात व्यवस्थापन महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय फेडेरेसनहरूले कुनै देशमा प्रतियोगिता दिने क्रममा त्यहाँको भौगोलिक अवस्था, खेल पूर्वाधार र आतिथ्य सेवाको मूल्यांकन गर्ने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँग आउने अफिसियल, परिवार र साथीहरू पनि आउँछन्। यसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पु-याउँछ,’ उनले भने । 

थापाले खेलकुदले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्म चलायमान बनाउने बताए। उनका अनुसार एउटा पर्यटक आउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिस आर्थिक गतिविधिमा जोडिन्छन् । उनले भने, ‘खेलाडी होटलमा बस्छन्, यातायात प्रयोग गर्छन्, खाना खान्छन्, किनमेल गर्छन्। यसले होटल, यातायात, व्यापार र स्थानीय उत्पादनको बजार विस्तार गर्छ।’ 

उनले नेपालमा खेलकुद पर्यटनका लागि प्राकृतिक सम्भावना उच्च रहेको उल्लेख गरे। उच्च हिमाली क्षेत्रका म्याराथन, साइकलिङ, स्की, -याफ्टिङ, कायकिङलगायतका साहसिक खेलमार्फत नेपाल विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

‘नेपाल प्रकृतिले बनाएको देश हो। पूर्वाधारमा हामी केही पछाडि छौँ होला, तर प्राकृतिक स्रोत र साहसिक पर्यटनमा नेपाल निकै अगाडि छ,’ उनले भने।

थापाले नेपालले अन्तर्राष्ट्रिय खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि कूटनीतिक निकाय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातासँग सहकार्य गर्नुपर्ने बताएका छन् । एक–दुई वर्ष अगाडिदेखि नै खेलकुद कार्यक्रमको क्यालेन्डर बनाएर प्रचार गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिने उनको भनाइ छ ।

खेलकुद पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको थापाले बताउँछन् । उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत खेल मैदान, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने सुझाव दिए ।

‘निजी क्षेत्रले आफैँ जग्गा किनेर खेल पूर्वाधार बनाउन कठिन हुन्छ, किनभने लगानीको प्रतिफल आउन धेरै समय लाग्छ । सरकारले निश्चित समयका लागि जग्गा लिजमा दिने, कर सहुलियत दिने र लगानीमैत्री वातावरण बनाउने हो भने निजी क्षेत्र आउन सक्छ,’ उनले भने।

स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जग्गा र स्रोतलाई खेल पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । खेल पूर्वाधार बनेपछि स्थानीय रोजगारी, होटल व्यवसाय, स्थानीय उत्पादन र पर्यटन गतिविधि बढ्ने उनले बताए । उनले भने, ‘एउटा स्टेडियम बन्नु भनेको एउटा खेल मैदान मात्र बन्नु होइन। त्यससँगै स्थानीय बजार, रोजगारी र नयाँ आर्थिक गतिविधि सुरु हुन्छ।’

थापाले खेलकुदले देशको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने बताए । विश्वका धेरै साना राष्ट्रहरू खेलकुदकै माध्यमबाट चिनिएको उदाहरण दिँदै उनले नेपालले पनि खेलकुदलाई राष्ट्र निर्माणको माध्यम बनाउनुपर्ने बताए । ‘खेलाडीले देशको प्रतिनिधित्व गर्छ, एउटा खेलाडीले मेडल जित्दा देशको नाम विश्वभर पुग्छ । त्यसपछि प्रायोजन, लगानी र आर्थिक अवसरहरू बढ्छन्,’ उनले भने।

उनले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए। विद्यालय, क्लब र राष्ट्रिय टोलीबीच समन्वय भए खेलाडी उत्पादनको वातावरण बन्ने उनको भनाइ छ ।

थापाले कर्पोरेट क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । सरकारले सहुलियत दिने हो भने निजी क्षेत्र खेलकुद पूर्वाधारमा ठूलो लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

प्रकाशित : 14 July, 2026 12:28 pm