काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा देशभरका सातै प्रदेशमा एकैसाथ ‘सहकारी पुनर्जागरण : चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना’ विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीहरूमा सहकारी क्षेत्रको वर्तमान अवस्था, नियामकीय सुधार, वित्तीय सुदृढीकरण, सुशासन, जोखिम व्यवस्थापन तथा सहकारी पुनर्जागरणका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ। बैंकले सदस्य सहकारी संघ–संस्थाको संस्थागत क्षमता अभिवृद्धि, गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवा विस्तार र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
बागमती प्रदेशमा आयोजित गोष्ठीको उद्घाटन सहकारी विभागका रजिस्ट्रार बाबुराम गौतमले गरेका थिए। बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा. रमेश चौलागाईंले ‘सहकारीको परिवर्तित नियामकीय कार्यदिशा’ र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले ‘सहकारी बैंक : विगतदेखि वर्तमानसम्म’ विषयमा प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतो तथा नेपाल बचत तथा ऋण केन्द्रीय संघका अध्यक्ष चन्द्र ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कोशी प्रदेशमा उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले गोष्ठी उद्घाटन गरेका थिए। बैंकका सञ्चालक परितोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी रजिस्ट्रार भूपेन्द्र खनाल तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले प्रस्तुतीकरण गरेका थिए।
मधेश प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जयकुमार यादवले उद्घाटन गरेको कार्यक्रममा बैंककी सञ्चालक मन्दिरा आचार्यले अध्यक्षता गरेकी थिइन्। प्रदेश सहकारी रजिस्ट्रार रूपेशकुमार साह तथा बैंकका मधेश प्रदेश प्रमुख प्रभु पोखरेलले सहकारी क्षेत्रको वर्तमान अवस्था र बैंकको भूमिकाबारे धारणा राखेका थिए।
गण्डकी प्रदेशमा भूमि, कृषि तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा बैंककी सञ्चालक कमलादेवी गिरीको अध्यक्षता रहेको थियो। प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार नारायणप्रसाद ढकाल तथा बैंकका गण्डकी प्रदेश प्रमुख रुक्मत श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए।
लुम्बिनी प्रदेशको दाङमा आयोजित कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीले उद्घाटन गरेका थिए। बैंकका सञ्चालक विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश रजिस्ट्रार मञ्जु पाण्डे र बैंकका प्रदेश प्रमुख किरण खत्रीले सहकारी क्षेत्रका समसामयिक विषयमा प्रस्तुतीकरण गरेका थिए।
कर्णाली प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उद्घाटन गरेको कार्यक्रममा बैंकका सञ्चालक कालीबहादुर महताराको अध्यक्षता रहेको थियो। प्रदेश सहकारी रजिस्ट्रार शुमानन्द अर्याल तथा बैंकको सुर्खेत शाखाका प्रमुख सागरनाथ योगीले सहकारी क्षेत्रको अवस्था र सुधारका उपायबारे प्रस्तुतीकरण गरेका थिए।
सुदूरपश्चिम प्रदेशमा सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीकी रजिस्ट्रार जयन्ती गिरीले कार्यक्रम उद्घाटन गरेकी थिइन्। बैंकका सञ्चालक मनमोहन विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जयन्ती गिरी र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हिरालाल सुनारले सहकारी पुनर्जागरणका विषयमा धारणा राखेका थिए।
गोष्ठीमा सहभागीहरूले सहकारी क्षेत्रको दिगो विकास, सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा जनविश्वास अभिवृद्धिका लागि प्रभावकारी सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।
नेपाल सरकारको समेत शेयर लगानीमा २०६० असार २५ गते स्थापना भएको राष्ट्रिय सहकारी बैंकले हाल देशभरका ५७ शाखा कार्यालयमार्फत १६ हजार ५२० सहकारी संघ–संस्थालाई सदस्यका रूपमा सेवा प्रदान गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा बैंकले आफ्ना संस्थापक, सदस्य सहकारी संस्था, नेपाल सरकार, नियामक निकाय, सहकारी अभियन्ता तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ।
बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले २३ वर्षको यात्रामा सदस्यहरूको विश्वास नै बैंकको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा सहकारी क्षेत्रको वित्तीय सुदृढीकरण, संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन, डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा दिगो विकासप्रति बैंक प्रतिबद्ध रहने बताए।
उनले सदस्य केन्द्रित सेवा, उत्पादनशील क्षेत्रमा लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन तथा नवप्रवर्तनमैत्री वित्तीय सेवामार्फत सहकारी संघ–संस्थाको विश्वसनीय वित्तीय साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै सहकारी आन्दोलनको सुदृढीकरण र सदस्य समृद्धिका लागि बैंक निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
स्थापना दिवसका अवसरमा सातै प्रदेशमा आयोजित कार्यक्रममा बैंकको २२औँ वार्षिक साधारणसभाबाट प्रदेशस्तरमा उत्कृष्ट घोषित सहकारी संस्थाहरूले आफ्ना सफलताका अनुभव साझा गरेका थिए। साथै सम्पूर्ण कार्यक्रमको सञ्चालन बैंकका महिला कर्मचारीहरूले गरेका थिए।






Comment