काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि राहदानी प्राप्त गर्न ढिलाइ भएको भन्दै एक सेवाग्राहीले आत्मदाहको प्रयास गरेका छन्। घटनाप्रति बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराउँदै सेवा प्रवाहमा देखिएको ढिलाइप्रति गम्भीर प्रश्न उठाएका छन्।
संसदमा बोल्दै प्रमुख सचेतक दुलालले प्रारम्भिक जानकारीअनुसार राहदानी बनाउन भएको ढिलाइका कारण आजित भएका एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको बताए। उनले यस्तो घटना सरकारी सेवा प्रवाहको कमजोरीको परिणाम भएको टिप्पणी गरे।
दुलालले सरकारले नागरिकको घरदैलोमै राहदानी सेवा पुर्याउने घोषणा गरे पनि व्यवहारमा सेवाग्राहीले सास्ती भोग्नुपरेको उल्लेख गर्दै सरकारको जिम्मेवारीमाथि प्रश्न उठाए। उनले भने, “जनताको घरदैलोमै राहदानी पुर्याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिन्छ। राहदानी विभाग अगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ? कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो?”
घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई नागरिकका समस्या समाधानमा संवेदनशील बन्न, राहदानी वितरण प्रणालीलाई प्रभावकारी बनाउन तथा सेवा प्रवाहमा देखिएका ढिलासुस्ती तत्काल अन्त्य गर्न आग्रह गरेका छन्।


Comment