काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अध्यक्ष सागर ढकालको नेतृत्वमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
भेटका क्रममा अध्यक्ष डा. भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारको बजेट तथा नीति–कार्यक्रमअनुसार पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सुधार र पहललाई प्राथमिकताका साथ अघि बढाइने बताए।
उनले नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै बजारमा सुशासन, पारदर्शिता, लगानीकर्ता संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने धारणा राखे।
सो अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले डा. भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले निरन्तर रचनात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा सरकारको बजेटमार्फत घोषणा भएका पुँजी बजारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको जनाइएको छ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले डा. गोपाल प्रसाद भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।






Comment