काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराएका हुन्। यसअघि असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पुँजीबजारमा लगानीकर्ताको विश्वास कायम राख्ने, लगानीको सुरक्षा सुनिश्चित गर्ने तथा कुनै पनि प्रकारको दबाब वा प्रलोभनमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
उनले पुँजीबजार सुधारका लागि छोटो, मध्यम र दीर्घकालीन कार्ययोजना तयार गरी समयसीमाभित्र कार्यान्वयन गर्न आग्रह गर्दै बजारमा फैलिने भ्रम र अफवाह नियन्त्रण गरी साना लगानीकर्ताको मनोबल उच्च बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट नियामक निकायको काममा अनावश्यक हस्तक्षेप नहुने स्पष्ट पार्दै कामको मूल्याङ्कन परिणामका आधारमा हुने उल्लेख गरे। साथै, बजारको अवस्थाबारे नियमित रूपमा मन्त्रालयलाई जानकारी गराउन पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिए।
नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र प्राथमिकताअनुसार पुँजीबजारको सुधार तथा विकासमा प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे। विगतमा पुँजीबजार सुधारका लागि भएका अध्ययन, सुझाव र सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लगानीकर्तामैत्री र विश्वसनीय बजार निर्माणमा आफ्नो अनुभव र दक्षता उपयोग गर्ने उनको भनाइ थियो।






Comment