चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब



काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ । रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दशौं स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्यापार घाटा रहेको संकेत गर्दछ ।

यता, नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँगको व्यापार पनि उच्च रहेको छ । विभागका अनुसार ११ महिनामा नेपालले भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ भने भारततर्फ २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

तथ्यांक अनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात स्रोत र प्रमुख निर्यात गन्तव्य बनेको छ । कुल आयातमध्ये ५७.७ प्रतिशत हिस्सा भारतको रहेको छ भने कुल निर्यातमध्ये ८२.१ प्रतिशत हिस्सा भारततर्फ गएको छ । व्यापार विज्ञहरूका अनुसार चीनसँगको अत्यधिक आयात र न्यून निर्यातले नेपालको व्यापार सन्तुलनमा दबाब बढाइरहेको छ । उनीहरूका अनुसार चीनतर्फ नेपाली उत्पादनको पहुँच विस्तार, निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि तथा व्यापार सहजीकरणका उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छ ।

प्रकाशित : 23 June, 2026 9:24 am