काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा झन् फराकिलो बनेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो ११ महिनामा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
निर्याततर्फ पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
आयात र निर्यात दुवै बढे पनि आयातको आकार निकै ठूलो भएका कारण व्यापार घाटा घट्न सकेको छैन। आयातको तुलनामा निर्यातको वृद्धि सुस्त हुँदा व्यापार सन्तुलनमा सुधार आउन नसकेको देखिएको छ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।
तथ्याङ्क अनुसार आयात–निर्यात अनुपात पनि थप असन्तुलित बनेको छ। गत आर्थिक वर्षमा ६.६४ रहेको यो अनुपात चालु आर्थिक वर्षमा बढेर ६.८१ पुगेको छ। अर्थात् नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.८१ रुपैयाँ बराबरको वस्तु आयात गरिरहेको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि घटेको छ। गत वर्ष १३.०८ प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षमा घटेर १२.८० प्रतिशतमा सीमित भएको छ। विपरीत रूपमा आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।






Comment