एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रो पावरको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रो पावरको शेयर कारोबार रोक्का



काठमाडाै ६ जेठ । मंगलबार दूई कम्पनी एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नियामक निकाय धितोपत्र बोर्डले दिएको निर्देशनका आधारमा दुवै कम्पनीको शेयर रोक्का गरिएको नेप्सेले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा रोक्का भएको छ । पूँजी वृद्धिका लागि लगानीकर्तालाई एक बराबर छ को अनुपातमा अर्थात ६०० प्रतिशत हकप्रद दिने घोषणा गरेको कम्पनीको शेयर कारोबार मंगलबारदेखि रोक्का गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार एभरेष्टले शेयर भाउसँग जोडिएको संवेदनशील सूचना चुहावट भएको उजुरीका आधारमा छानबिनका लागि कारोबार रोकिएको जनाएको छ । यससम्बन्धमा छानबिन प्रक्रिया समेत अगाडि बढाएको बोर्डले जनाएको छ ।

कम्पनीले लगानीकर्तालाई गतवर्षको मुनाफाबाट २० प्रतिशत बोनस पछि ६०० प्रतिशत हकप्रद दिने खबर यसअघि नै आइसकेको छ । कम्पनीले एकसाथ ५ वर्षको साधारण सभा बोलाएर २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको हो । कम्पनीले असार २३ गते एकसाथ १८, १९, २०, २१ र २२ औं साधारण सभा बोलाएको छ ।

त्यस्तै नेप्सेले नेशनल हाइड्रोको शेयर पनि मंगलबार नै रोक्का गरेको छ । कम्पनी अध्यक्षले अवैधानिक रुपमा कम्पनीको खाता सञ्चालन गरी रकम हिनामिना गरेको उजुरी बोर्डमा परेपछि बोर्डकै निर्देशनमा कम्पनीको कारोबार रोक्का भएको हो ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०६:४०