काठमाडौं। संसद्मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा उठेको विवादबीच सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आर्थिक विधेयकमा कुनै पनि प्रकारको चलखेल नभएको दाबी गरे। उनले अर्थमन्त्रीले गहिरो अध्ययन र मेहनतका साथ सन्तुलित बजेट प्रस्तुत गरेको उल्लेख गर्दै सरकारको पूर्ण समर्थन रहेको बताए।
उनका अनुसार, “कुनै चलखेल भएको छैन, अर्थमन्त्रीज्यूले अत्यन्त मेहनत गरेर राम्रो बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।”
यसबीच, गत जेठ १५ गते अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गरेको आर्थिक विधेयकको पृष्ठ सङ्ख्या ४६४ रहेको थियो। तर अर्थ मन्त्रालयले पछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको सोही विधेयकको संस्करणमा पृष्ठ सङ्ख्या ४४८ मात्र देखिएको पाइएको छ।
संसद्मा पेस भइसकेको विधेयकबाट १६ पृष्ठ हटाएर फरक रूपमा सार्वजनिक गरिएको भन्दै करसम्बन्धी व्यवस्थामा समेत परिवर्तन भएको आरोपसहित सरकारको आलोचना तीव्र बनेको छ।
संविधान तथा संसदीय अभ्यासका जानकारहरूका अनुसार संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै पनि संशोधन वा परिमार्जन गर्न संसद्को औपचारिक स्वीकृति अनिवार्य हुन्छ। विधेयक दर्तापछि कार्यपालिका तहबाट त्यसमा एकतर्फी परिवर्तन गर्न कानुनी रूपमा अनुमति नरहने उनीहरूको भनाइ छ।
यता, करका दरमा अनधिकृत हेरफेर, सूचना चुहावट तथा विद्युतीय सवारीसाधन भन्सार पाससम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।






Comment