काभ्रेमा सहकारीमा युवा नेतृत्व विषयक अन्तरक्रियात्मक तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काभ्रेमा सहकारीमा युवा नेतृत्व विषयक अन्तरक्रियात्मक तालिम सम्पन्न




काभ्रे — जिल्ला सहकारी संघ लि. काभ्रे अन्तर्गत युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न भएको छ।
सहकारी क्षेत्रमा युवाको सहभागिता विस्तार गर्दै नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सहभागीहरूबीच ज्ञान आदान–प्रदान तथा व्यवहारिक सिकाइको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो। जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन सदस्य सुरज कुमार न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य समेश सापकोटाले व्यक्त गर्नुभएको थियो।
प्रशिक्षण सत्रमा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा मोटिभेटर राजु सरकारले सहकारी क्षेत्रमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार, समूह व्यवस्थापन तथा निर्णय क्षमतासम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो। उहाँले सहकारी संस्थामा युवाको भूमिका केवल सहभागितामा सीमित नभई नीति निर्माण तथा नेतृत्व तहसम्म विस्तार हुनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि अमन पोटे श्रेष्ठले सहकारी आन्दोलनलाई समयानुकूल रूपान्तरण गर्न युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अनुभवी नेतृत्व र युवा पुस्ताबीचको सहकार्यबाट मात्र संस्थागत विकास सम्भव हुने बताउनुभयो।
कार्यक्रममा संघका पदाधिकारी, विभिन्न उपसमितिका सदस्यहरू, कर्मचारी तथा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कुल ६५ जनाको सहभागिता रहेको उक्त तालिमले सहकारी क्षेत्रमा नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।
समापन सत्रमा युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै सहकारी संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले यस्ता कार्यक्रमहरूले संस्थागत कार्यसम्पादन सुधारमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित : 8 June, 2026 5:03 pm