काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका बीवाईडीका विद्युतीय सवारी साधनका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा उठेका चासोप्रति आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले बिहीबार तथ्यगत स्पष्टीकरण जारी गर्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
साइमेक्स इंकका अनुसार हाल बजारमा आएका गाडीहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा वैधानिक तवरले आयात तथा जाँचपास गरिएका हुन् ।
‘२२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन । कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नै गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न यी सवारी साधन आयात गरिएको कम्पनीले प्रष्ट पारेको छ । सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा ढुवानी व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राखेर गरिएको र यसमा कुनै पनि प्रकारको कर नीति परिवर्तनको सूचनाको सम्बन्ध नरहेको साइमेक्सले दाबी गरेको छ ।
सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्णतः निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पु¥याउने खालको भन्दै साइमेक्सले खण्डन गरेको छ ।
पारदर्शिता पुष्टि गर्न कम्पनी जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्न तयार रहेको बताएको छ । अनुसन्धानका लागि आवश्यक आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन कम्पनी पूर्ण रूपमा तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न साइमेक्सले सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई विनम्र अनुरोध गरेको छ ।
भ्रम सिर्जना गर्ने वा वैधानिक व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पु¥याउने सामग्री प्रकाशन नगर्न आग्रह गर्दै कम्पनीले नेपालको वातावरणीय लक्ष्य प्राप्ति र दिगो यातायातमा पु¥याएको योगदानलाई स्मरण गराएको छ ।
विगत धेरै वर्षदेखि नेपालको क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा काम गर्दै आएको उल्लेख गर्दै साइमेक्स इंकले आगामी दिनमा पनि इमान्दारिता, कानुनको पालना र पारदर्शिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ। सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले छिट्टै सत्यतथ्य बाहिर ल्याउनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।






Comment