काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हरियो रहँदै बन्द भएको छ। मंगलबारको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से २.६६ अंकले उकालो लागेर २७८०.२५ विन्दुमा पुगेको हो।
आज सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंकले वृद्धि भएका छन्। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य आज ७४ रुपैयाँ ७० पैसा बढेर ५७२ रुपयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य करिब १५ प्रतिशत बढेको छ भने विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यस दिन ५.१८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी लगातार शीर्ष स्थानमा रह्यो। कम्पनीको ४४ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँ तथा रिडी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।






Comment