काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पद जितेका हुन्।
सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले पाँच मत प्राप्त गर्दा पौड्यालले दुई मत पाए। उप्रेती कोशी प्रदेशबाट निर्वाचित सञ्चालक हुन् भने पौड्याल बागमती प्रदेशका प्रतिनिधि हुन्।
बैंकको संशोधित विनियमअनुसार सञ्चालक समिति नौ सदस्यीय रहने व्यवस्था छ। समितिमा कम्तीमा दुई जना महिला अनिवार्य रहने प्रावधानसहित सातवटै प्रदेशबाट एक–एक जना सञ्चालक निर्वाचित भएका छन्। बाँकी दुई जना विज्ञ सञ्चालक — एक जना सहकारी विज्ञ र एक जना वित्तीय विज्ञ — पछि मनोनयन गरिने व्यवस्था रहेको छ।
निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने प्रावधानअनुसार शुक्रबार अध्यक्षका लागि मतदान भएको हो। यसअघि जेठ ९ गते सम्पन्न निर्वाचनबाट सात प्रदेशका सञ्चालक तथा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको थियो।
निर्वाचित सञ्चालकहरूमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला देवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट रहेका छन्।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ चयन भएकी छन् भने सदस्यहरूमा ममता शाह र युवराज पोखरेल रहेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले जेठ १३ गते सपथ ग्रहण तथा पदबहाली गरिसकेका छन्।






Comment