काठमाडाैँ । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २६औं स्थापना दिवसको अवसरमा सदस्य लक्षित विविध सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी ज्येष्ठ सदस्य सम्मान, स्वास्थ्य सेवा, वातावरण सचेतना तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रममार्फत विशेष रूपमा मनाउन लागेको जनाएको छ।
कार्यक्रमअन्तर्गत जेठ १७ गते ज्येष्ठ सदस्यहरूलाई गोदावरीस्थित श्वेत वाराहीमा तीर्थ भ्रमण गराइनेछ। त्यसैगरी जेठ १८ गते संस्थाको ब्यासी सेवा केन्द्रमा वृहत स्वास्थ्य शिविर सञ्चालन गरिने संस्थाले जनाएको छ।
काठमाडौं मेडिकल कलेज अस्पतालसँगको सहकार्यमा आयोजना हुने स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, आँखा, दन्त तथा बालरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइनेछ। साथै ईसीजी, भिडियो एक्सरे तथा ल्याब परीक्षण सेवा समेत सञ्चालन हुने जनाइएको छ। संस्थाका अनुसार उक्त शिविर विशेषगरी सदस्यहरूको स्वास्थ्य परीक्षण तथा परामर्शलाई लक्षित गरिएको हो।
यसैबीच, स्थापना दिवसकै अवसरमा वातावरण सम्बन्धी अभिमुखीकरण, रक्तदान कार्यक्रम तथा असल ऋणी सम्मान कार्यक्रम समेत आयोजना गरिनेछ।
संस्थाले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार शेयर पुँजी ११ करोड ९० लाख ६० हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष १७ करोड ३९ लाख १० हजार रुपैयाँ रहेको छ। संस्थागत पुँजी १७ करोड ५३ लाख २३ हजार रुपैयाँ तथा कुल बचत १ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ पुगेको संस्थाले जनाएको छ।
त्यसैगरी, हालसम्म संस्थाले १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ ऋण लगानी गरेको छ भने कुल सम्पत्ति १ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। संस्थामा १० हजार १८३ नियमित सदस्य तथा १ हजार २६२ बाल सदस्य आबद्ध रहेका छन्।
सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुँदै आएको संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।






Comment