ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता प्रबल शर्माले बैंकका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। सोही अवसरमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
बैंकको २२औं वार्षिक साधारणसभाको निर्णयअनुसार सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य पदका लागि २०८३ जेठ ९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित तथा सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।

निर्वाचनबाट कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट डा. परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा र सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट सञ्चालक समितिमा चयन हुनुभएको छ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममता कुमारी शाह चयन हुनुभएको छ।
बैंकको ९ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था अनुसार दुई जना विज्ञ सञ्चालक (एक जना सहकारी क्षेत्र र एक जना बैंक तथा वित्तीय क्षेत्रका विज्ञ) पछि मनोनयन गरिनेछ। निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था रहेको छ। नवनिर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ।
कार्यक्रममा निवर्तमान अध्यक्ष महेन्द्र कुमार गिरीले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले आफ्नो १८ महिनाको कार्यकालमा बैंकले उल्लेखनीय सुधार गरेको उल्लेख गर्दै चुनौतीपूर्ण अवस्थाबाट संस्थालाई उकास्न सामूहिक प्रयास महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले बैंकलाई अझ सुदृढ, व्यवस्थित र पूर्ण व्यवसायिक संस्थाका रूपमा विकास गर्न नयाँ नेतृत्वलाई आग्रहसमेत गर्नुभयो।कार्यक्रममा निवर्तमान सञ्चालकहरूलाई विदाइ पनि गरिएको थियो। कार्यक्रममा सल्लाहकारहरू, केन्द्रीय संघका प्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
निर्वाचन उपसमितिका सदस्य अशोक काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले गर्नुभएको थियो।






Comment