चार दिन बन्दअघि नेप्सेमा हरियाली, कारोबार ६ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार दिन बन्दअघि नेप्सेमा हरियाली, कारोबार ६ अर्ब नाघ्यो



काठमाडौं । लगातार चार दिन शेयर बजार बन्द हुने अवस्थाअघि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानीकर्ताको सक्रियता बढेको देखिएको छ । बजार सामान्य अंकले बढेर बन्द हुँदा कारोबार रकम पनि उल्लेख्य रूपमा उकालो लागेको छ ।

यस दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ । बजारसँगै अन्य उपसूचकहरू पनि हरियालीमै बन्द भएका छन् । सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढ्दा फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स समान ०.४३ अंकले उकालो लागेका छन् ।

कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित रहेको कारोबार बुधबार बढेर ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस दिन ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच भएका छन् ।

बजारमा जलविद्युत् समूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको मात्रै ७१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा नेशनल हाइड्रोपावरको कारोबार रकम पनि ३२ करोड रुपैयाँ नाघेको छ ।

मूल्य वृद्धितर्फ पनि जलविद्युत् कम्पनीहरू नै हाबी देखिए । कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ । बुंगल हाइड्रोको मूल्य १३ प्रतिशतभन्दा बढीले उकालो लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर पनि साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

यता, ऋणपत्रतर्फ भने दबाब देखिएको छ । कारोबारमा आएको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ ।

यसबीच अब शेयर बजार लगातार चार दिन बन्द हुने भएको छ । बिहीबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने शुक्रबार गणतन्त्र दिवसका कारण पुनः सार्वजनिक बिदा परेको छ । त्यसपछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा परेकाले बजार आगामी चार दिन बन्द रहनेछ ।

प्रकाशित : 27 May, 2026 3:24 pm