उत्तरी नाकाको व्यापार सहज बनाउन बजेटमार्फत विशेष नीति ल्याउन रामचन्द्र पराजुलीकाे आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उत्तरी नाकाको व्यापार सहज बनाउन बजेटमार्फत विशेष नीति ल्याउन रामचन्द्र पराजुलीकाे आग्रह



काठमाडौं । हिमालयन सीमापार व्यवसायी महासंघका महासचिब रामचन्द्र पराजुलीले आगामी बजेटमार्फत उत्तरी नाकाको भौतिक पूर्वाधार विकास, व्यापार सहजीकरण र निजी क्षेत्रको मनोबल उकास्ने स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

अर्थबजार डट कमद्वारा आयोजित प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै उनले रसुवा, तातोपानी र कोरोला नाकाबाट भइरहेको व्यापार कमजोर सडक पूर्वाधार, बाढी–पहिरो र ढुवानी समस्याका कारण प्रभावित भइरहेको बताए। उनले नेपालतर्फको पूर्वाधार निर्माणमा ढिलाइ हुँदा व्यवसायीले महिनौंसम्म सामान रोकिएर ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरे।

कार्कीले अन्तर्राष्ट्रिय व्यापारमा नेपाली व्यवसायीले गैर-कर अवरोध र उच्च ढुवानी लागतको समस्या झेलिरहेको भन्दै आगामी बजेटले आयात–निर्यात प्रक्रियालाई सरल, छिटो र कम खर्चिलो बनाउने नीति ल्याउनुपर्नेमा जोड दिए।

उनले राजस्व न्यायाधीकरण र प्रशासकीय पुनरावलोकन प्रक्रियालाई छरितो बनाउन, सीमा नाकामै विज्ञ टोलीको व्यवस्था गर्न तथा चीनले दिएको ट्याक्स-फ्री सुविधाको लाभ उठाउन निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।

त्यस्तै, साना तथा मझौला व्यवसायीलाई सहुलियतपूर्ण कर्जा, डिजिटल भुक्तानी प्रणालीको विस्तार, वैज्ञानिक एमआरपी नीति र लगानीयोग्य पूँजीको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै उनले उत्तरी नाकाको व्यापारलाई दिगो र प्रतिस्पर्धी बनाउन बजेटले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे।

प्रकाशित : 26 May, 2026 12:55 pm