काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २५औँ वर्षमा प्रवेश गरेको छ । सहकारी क्षेत्रमाथि पछिल्लो समय विभिन्न प्रश्न र चुनौतीहरू उठिरहेका बेला रोयल साकोसले भने सदस्यकेन्द्रित सेवा, प्रविधिमैत्री अभ्यास र सामाजिक उत्तरदायित्वमार्फत आफूलाई फरक पहिचानसहित अघि बढाएको दाबी गरेको छ ।
२०५९ साल जेठ ९ गते २८ जना सदस्यको सहभागिता र ७ लाख रुपैयाँ पूँजीबाट सुरु भएको संस्थाले बुधबार आफ्नो स्थापनाको २४ वर्ष पूरा गर्दै २५औँ वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै संस्थाको यात्रालाई सहकार्य र विश्वासको परिणाम बताएका छन् ।
सानो सुरुआतदेखि बहुजिल्ला विस्तारसम्म
रोयल सहकारीको प्रारम्भिक यात्रा भने काठमाडौंबाट सुरु भएको थियो । २०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी स्थापना भएको रोयल सहकारीको पोखरा कार्यालय पछि क्षेत्रीय संरचनाबाट विकसित हुँदै स्वतन्त्र संस्थाका रूपमा स्थापित भएको हो ।
२०७६ साल कात्तिक २३ गते सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट पोखराको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ र लमजुङसम्म विस्तार भएको छ ।
विस्तारसँगै संस्थाले सेवा प्रणालीलाई पनि परम्परागत ढाँचाबाट आधुनिक डिजिटल अभ्यासतर्फ रूपान्तरण गर्दै लगेको जनाएको छ ।
‘क्यासलेस, चेकलेस र पेपरलेस’ अभियान
सहकारी क्षेत्र डिजिटल रूपान्तरणतर्फ उन्मुख भइरहेका बेला रोयल साकोसले आफूलाई प्रविधिमैत्री संस्थाका रूपमा उभ्याउने प्रयास गरेको छ ।
संस्थाका मुख्य प्रबन्धक मिलन ढकालका अनुसार कारोबारलाई सुरक्षित, छरितो र समयानुकूल बनाउन कोर बैंकिङ प्रणाली अवलम्बन गरिएको छ भने सम्पूर्ण तथ्याङ्क क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ ।
सदस्यहरूलाई कनेक्ट आईपीएस, ट्याबलेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम तथा क्यूआर सेवासमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।
‘रोयल स्मार्ट बैंकिङ’ सेवामार्फत सदस्यहरूले बचत विवरण हेर्ने, मोबाइल टपअप, बिल भुक्तानी, रकम ट्रान्सफरलगायत सुविधा प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।
बचत र ऋणभन्दा माथि ‘सामाजिक सहारा’
रोयल साकोसले आफूलाई केवल वित्तीय कारोबार गर्ने संस्थामा सीमित नराखी सामाजिक उत्तरदायित्वमा समेत सक्रिय बनाएको दाबी गरेको छ ।
संस्थाले सदस्यहरूलाई शिशुस्याहार राहत, स्वास्थ्योपचार सहायता, मृत्यु राहत, पेन्सन तथा किरिया खर्चसम्मका सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
रोयल फाउन्डेसनमार्फत सदस्यको मृत्यु भएमा १० हजार रुपैयाँ राहत तथा सुत्केरी स्याहारका लागि ३ हजार रुपैयाँ सहयोग उपलब्ध गराइँदै आएको मुख्य प्रबन्धक ढकालले बताए ।
त्यसैगरी ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई वार्षिक ५ हजार रुपैयाँका दरले पेन्सन सेवा प्रदान गरिँदै आएको संस्थाको भनाइ छ ।
संस्थाले सदस्यहरूका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै सहुलियतपूर्ण स्वास्थ्य सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ । ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स तथा पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेसमा सदस्यहरूले छुटसहित सेवा पाउने व्यवस्था गरिएको छ ।
‘सहकारीलाई उत्पादनसँग जोड्ने प्रयास’
संस्थाले वित्तीय कारोबारसँगै सदस्यलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले विकास सेवा डेस्क (बीडीएस डेस्क) सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङका अनुसार उक्त डेस्कमार्फत सदस्यलाई आयआर्जनका बहुविकल्प, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनामा सहजीकरण गर्ने प्रयास भइरहेको छ ।
त्यसैगरी कर्मचारीहरूमा अध्ययन र अनुसन्धानको संस्कृति विकास गर्न पुस्तकालय तथा पठन संस्कृतिलाई पनि संस्थागत अभ्यासका रूपमा अघि बढाइएको उनले बताए ।
संस्थाले सदस्य, कर्मचारी, बाल बचतकर्ता, सेवाकेन्द्र तथा बचत समूहलाई कार्यसम्पादन र कारोबारका आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । हरेक महिना उत्कृष्ट सदस्य घोषणा गर्ने अभ्यासले पनि सदस्य सहभागिता बढाएको संस्थाको दाबी छ ।
दुई अर्बभन्दा बढी सम्पत्तिसहितको वित्तीय विस्तार
वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थामा १० हजार ४ सय ४५ सदस्य आबद्ध छन् भने ९ सय ६३ जना ऋणी सदस्य रहेका छन् ।
संस्थाको कुल सम्पत्ति २ अर्ब ५२ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । १५ करोड ५१ लाख ८६ हजार रुपैयाँ शेयर पूँजी रहेको संस्थाको संस्थागत पूँजी २२ करोड ५२ लाख २७ हजार रुपैयाँ रहेको जनाएको छ ।
त्यसैगरी १ अर्ब ९२ करोड ७२ लाख ३८ हजार रुपैयाँ बचत संकलन गरेको संस्थाले १ अर्ब ४५ करोड ४१ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाको जगेडा कोषमा २२ करोड ५० लाख ४० हजार रुपैयाँ तथा अन्य कोषमा १५ करोड ५४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
हाल संस्थाका भण्डारढिक, मोहोरिया (कास्की) र दुलेगौंडा (तनहुँ) मा सेवाकेन्द्र सञ्चालनमा छन् ।
सहकारी क्षेत्रलाई फरक सन्देश
पछिल्ला वर्षहरूमा सहकारी क्षेत्र अविश्वास, अनियमितता र वित्तीय संकटका समाचारले घेरिएको अवस्थामा पोखरा रोयल साकोसले भने सदस्य सेवा, डिजिटल प्रणाली र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै ‘विश्वासिलो सहकारी’ बन्ने प्रयास गरेको देखिन्छ ।
२५औँ वर्षमा प्रवेशसँगै संस्थाले अबको यात्रा केवल कारोबार विस्तारमा नभई सदस्यको जीवनस्तर र सामाजिक भरोसा अभिवृद्धितर्फ केन्द्रित हुने संकेत दिएको छ ।






Comment