पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का



बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् । नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिका ‘पर्यटन गुरु योजना’ लाई आत्मसात गरेर अघि बढेको बताएका हुन् ।

नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरको लागी नगरपालिकाले निति तथा कार्यक्रममा ‘पर्यटन गुरु योजना’ बनाई सोही अनुरुप ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका लागेको उनले प्रष्ट पारे ।

नगरको प्रमुख विकास समृद्धि धार्मिक र पर्यटन क्षेत्र भएकोले पालिका भित्र रहेका विरेखोला झरना,कालाजग्रा—पर्यटकीय हबको रुपमा रहेको पोरखेगढी, जाल्पादेवी, दुनालेख, दहडाँडा जस्ता विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण, भौतिक पूर्वाधारको विकास लगायतका कार्य सञ्चालन गरिएको बताए ।

उनले पालिकाको हरेक नीति तथा कार्यक्रममा यहाँका पर्यटकिय क्षेत्रको उजागर गर्न बजेट विनियोजनका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटकीय क्षेत्रको प्रचार-प्रसारमा समेत जोड दिईएको प्रष्ट पारेका हुन् । नगर प्रमुख खड्काले जिल्लाको समग्र पर्यटकीय क्षेत्रको विकासमा स्थानीय तहरुले आन्तरिक रुपमा नीति तथा कार्यक्रममा पर्यटन संग सम्बन्धित पदमार्ग निर्माण, भौतिक पूर्वाधारको विकास, सडक सञ्जालको विस्तारमा जोड दिए ।

जिल्लाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघ सरकारले साझा योजना र सामुहिक प्रतिबद्दताका साथ अघि बढ्नु पर्नेमा जिकिर गरे।सबै स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गरि ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण र सम्बद्र्धनमा अघि बढ्नुपर्ने उल्लेख गरे ।

‘सिमित बजेटमा स्थानीय सरकारले मात्रै केही गर्न सक्दैन् । यसमा प्रदेश र संघ सरकारले समेत चासो दिनुपर्छ ।’ उनले भने, ‘धार्मिक तथा पर्यटकीय क्षेत्र सबैका साझा सम्पति हुन्।यिनिहरुको संरक्षण र पर्यटन, प्रबद्र्धनमा सबैले जोड दिनुपर्छ । स्थानीय सरकार यसमा प्रतिबद्द भएर अघि बढेको छ ।’

बडीमालिका नगरपालिकाले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको दिव्य पावन भूमी बडीमालिकाको विकासमा ‘बडीमालिका तिर्थयात्रा’लाई निरन्तरता दिदैँ आएको समेत उनले बताए ।

‘बडीमालिका तिर्थयात्राले बडीमालिको पर्यटन विकासमा थप टेवा पुगेको छ । त्यस्तै पालिका भित्रका पर्यटकीय क्षेत्रको उजागरमा नगरपालिका पर्यटन गुरु योजना मार्फत अघि बढेको छ,’ उनले भने ।

प्रकाशित : 20 May, 2026 9:57 am