काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्ने लक्ष्यसहित टेकपाइला इनोभेसनले विश्वविख्यात एनसीसी एजुकेशन यूकेसँग रणनीतिक साझेदारी गरेको छ। यस सहकार्यलाई देशको शिक्षा तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
हालै आयोजित विशेष प्रडक्ट लन्च कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर तथा प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले “डिजिटल नेपालको जग: सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा” शीर्षकमा मुख्य सम्बोधन गर्दै यो पहल नेपालको प्रविधि यात्रा लागि कोशेढुङ्गा हुने दाबी गरे।
उनका अनुसार नेपालको आईटी क्षेत्र वार्षिक २० देखि २५ प्रतिशतले विस्तार भइरहे पनि करिब ७० प्रतिशत कम्पनीहरूले प्रमाणित दक्ष जनशक्ति अभाव झेलिरहेका छन्। “विद्यार्थीहरू डिजिटल संसारसँग परिचित भए पनि औपचारिक साइबर सुरक्षा ज्ञान अझै न्यून छ,” उनले भने।
विद्यालयमै अन्तर्राष्ट्रिय कोर्स
यस साझेदारीमार्फत अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमै अन्तर्राष्ट्रिय स्तरका साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा साइन्सका कोर्स अध्ययन गर्न पाउने भएका छन्। यी कोर्सहरू विश्वका ५० भन्दा बढी देशमा मान्यता प्राप्त हुने जनाइएको छ।
साइबर सुरक्षा: डिजिटल प्रणाली र पूर्वाधारलाई सुरक्षित राख्ने क्षमता विकास
आर्टिफिसियल इन्टेलिजेन्स: भविष्यको एआई अर्थतन्त्रमा नेतृत्वदायी भूमिका
डाटा साइन्स: तथ्यांकलाई विश्लेषण गर्दै सूचनालाई निर्णयमा रूपान्तरण गर्ने सीप
‘शून्य लगानी’ मोडेल
टेकपाइलाले विद्यालय तथा कलेजहरूका लागि कुनै अतिरिक्त आर्थिक भार नपर्ने ‘शून्य लगानी’ मोडेल समेत ल्याएको छ। यसअन्तर्गत कम्पनीले प्रमाणित प्रशिक्षक र अत्याधुनिक लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) उपलब्ध गराउनेछ।
यसले बजेट वा पूर्वाधार अभावका कारण कुनै पनि विद्यार्थी प्रविधि शिक्षाबाट वञ्चित हुन नपर्ने दाबी गरिएको छ। साथै, प्राप्त प्रमाणपत्रहरूले बेलायत, अमेरिका र अष्ट्रेलियाका ७० भन्दा बढी विश्वविद्यालयमा उच्च शिक्षा तथा क्रेडिट ट्रान्सफरको अवसर खोल्ने जनाइएको छ।
‘स्किल ग्याप’ राष्ट्रिय चुनौती
कार्यक्रममा चिरञ्जीवी अधिकारीले साइबर सुरक्षा, एआई र डाटा साइन्स अब वैकल्पिक नभई २१औं शताब्दीका अनिवार्य सीप भएको उल्लेख गरे। उनले भने, “यो केवल रोजाइ होइन, राष्ट्रिय आवश्यकता हो।”
आर्थिक र नीतिगत सन्देश
कार्यक्रमका मुख्य अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार नेपालको आईटी र एआई सेवा क्षेत्र तीन वर्षमा दोब्बर भई ७० अर्बबाट १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ।
“यो क्षेत्र जलविद्युतभन्दा छिटो आम्दानी दिने सम्भावना बोकेको छ,” उनले भने।
नेपाल टेलिकमका म्यानेजर डा. शालिग्राम पराजुलीले नीति, पूर्वाधार र मानव संसाधन विकास सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै हिसानका महासचिव रामहरि सिलवालले टेकपाइलाको ‘स्किलिङ, रि-स्किलिङ र अप-स्किलिङ’ अभियानले युवालाई प्रविधिको उपभोक्ता होइन, सर्जक बनाउने विश्वास व्यक्त गरे।
डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले यो पहलले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै नेपाललाई सम्भावित प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार पार्ने बताए।






Comment