काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको व्यवसाय विस्तार र बीमा कोषमा उत्साहजनक प्रगति देखिए पनि नाफामा भने ठूलो गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष अघिल्लो वर्षको तुलनामा ७५.७० प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ मात्र थियो। बीमा कोषमा भएको यो भारी वृद्धिले कम्पनीको व्यावसायिक आकार र भविष्यको जोखिम वहन गर्ने क्षमता बलियो बन्दै गएको संकेत गर्दछ ।
कम्पनीले बीमा शुल्क संकलनमा पनि राम्रो सुधार गरेको छ । समीक्षा अवधिसम्म खुद बीमा शुल्क आम्दानी १२.१४ प्रतिशतले बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ९२ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि २.९८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यद्यपि, लगानी तथा कर्जाबाट हुने आम्दानीमा भने केही गिरावट आएर १४ करोड ७९ लाख रुपैयाँमा खुम्चिएको देखिन्छ ।
व्यापारिक सूचकहरू सकारात्मक भए पनि कम्पनीको खुद नाफामा भने ९९.८३ प्रतिशतको उच्च गिरावट आएको छ । अघिल्लो वर्ष २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्षको तेस्रो त्रैमाससम्म जम्मा ४ लाख ३८ हजार रुपैयाँ मात्र नाफा निकाल्न सफल भएको छ ।
नाफा यसरी घट्नुको मुख्य कारण ’जेनजी’ आन्दोलन र देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठूलो परिमाणमा बीमा दाबी पर्नुलाई मानिएको छ । दाबी भुक्तानी र अन्य खर्चको चापले गर्दा कम्पनीको नाफामा तीव्र दबाब परेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । नाफामा आएको गिरावटका कारण प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँबाट घटेर २ पैसा (०.०२ रुपैयाँ) मा झरेको छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम भएको छ भने अभिकर्ता कमिसन खर्च ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।






Comment