काठमाडौं । पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन्। आवेदन दिने म्याद आज सोमबार सकिँदै छ।
अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयमा इच्छुक उम्मेदवारहरूले आवेदन बुझाइरहेका छन्। कानुनअनुसार अध्यक्ष बन्नका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर पास हुनुपर्नेछ। साथै पुँजी बजार, अर्थ, वित्त, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव चाहिन्छ।
उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, राम्रो आचरण भएको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ।भ्रष्टाचारलगायत गम्भीर मुद्दामा दोषी ठहर भएका, कालोसूचीमा परेका वा विदेशी स्थायी बसोबास अनुमति लिएका व्यक्तिहरू भने प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन्।






Comment