काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
“Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउन तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।
स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
यसैगरी, रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ। साथै, सोही दिन देशभरका सातै प्रदेशमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैमा अनुरोध गरेको छ।







Comment