नबिल बैंक बलियो बन्दै: आम्दानी र लाभांश क्षमतामा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंक बलियो बन्दै: आम्दानी र लाभांश क्षमतामा सुधार



काठमाडाै‌ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले वित्तीय रूपमा प्रभावशाली सुधार देखाएको छ। बैंकले यस अवधिमा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हासिल गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो।

यस नाफा वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानीमा भएको सामान्य सुधार र इम्पेयरमेन्ट चार्जमा आएको गिरावट हो । जसले समग्र नाफालाई माथि तानेको देखिन्छ।

प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अहिले यो ३३ रुपैयाँ २ पैसा पुगेको छ। जुन गत वर्षको २५ रुपैयाँ ५ पैसाबाट स्पष्ट रूपमा माथि हो। यसले लगानीकर्ताका लागि बैंक अझ आकर्षक बन्दै गएको देखिन्छ।

त्यस्तै, वितरणयोग्य मुनाफा पनि २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यो वृद्धिले बैंकको लाभांश दिने क्षमता थप मजबुत भएको देखिन्छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै आफ्नो चुक्ता पूँजी ३२ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ। हाल बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ।

प्रकाशित : 28 April, 2026 11:07 am