नाफामा झिनो सुधार, नेपाल बैंकको सञ्चालन मुनाफा १२.५ प्रतिशतले उकालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाफामा झिनो सुधार, नेपाल बैंकको सञ्चालन मुनाफा १२.५ प्रतिशतले उकालो



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले वित्तीय प्रदर्शनमा स्थिरता देखाएको छ।सार्वजनिक गरिएको विवरण अनुसार बैंकले चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य ०.३४ प्रतिशतले मात्र बढी हो।

नाफा वृद्धिदर सीमित देखिए पनि बैंकको मुख्य आम्दानी स्रोत भने विस्तार भएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३ प्रतिशतले बढ्दै ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी पनि २.४६ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ नाघेको छ।

बैंकको सञ्चालन क्षमतामा भने उल्लेख्य सुधार देखिएको छ। सञ्चालन मुनाफा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँ थियो। वितरणयोग्य मुनाफा समेत बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष २५.२६ रुपैयाँ रहेको यस्ताे आम्दानी यस वर्ष बढेर २५.३४ रुपैयाँ पुगेको छ। त्यस्तै, खराब कर्जा अनुपात घटेर ५.४५ प्रतिशतबाट ४.९६ प्रतिशतमा झरेको छ। जसले बैंकको कर्जा गुणस्तरमा सुधार भएकाे देखिन्छ।

बैंकको प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ कायम रहँदा बेस रेट ४.७१ प्रतिशत रहेको छ। १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चिति छ।

कर्जा र निक्षेप दुवैमा विस्तार जारी राख्दै बैंकले चैत मसान्तसम्म २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रकाशित : 27 April, 2026 11:33 am