काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्थासहित ‘चक्रीय कोष’ सञ्चालनसम्बन्धी कार्यविधि लागू गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमार्फत सार्वजनिक गर्दै लागू भइसकेको जनाएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी छुट्टै चक्रीय कोष स्थापना गरिएको छ। यस कोषमार्फत बचत फिर्ता प्रक्रियालाई व्यवस्थित, छिटो र पारदर्शी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
कार्यविधिअनुसार समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्न यो कोष प्रयोग गरिनेछ। कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारी संस्थाका सम्पत्ति बिक्रीबाट उठेको रकम, अपचलन वा हिनामिनामा संलग्न व्यक्तिहरूबाट असुल गरिएको रकम तथा अन्य शोधभर्ना रकम समावेश गरिने व्यवस्था गरिएको छ।
यस्तै, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकमले बचत फिर्ता गर्न अपुग भएमा सम्बन्धित व्यक्तिहरूको निजी सम्पत्ति, अंशबण्डा वा कम्पनीमा गरिएको लगानीसमेत रोक्का गरी लिलाम गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ।






Comment