काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन सम्बन्धी बीमालेख सञ्चालनमा ल्याएको छ। कम्पनीले प्लान्ट स्याट सँगको प्राविधिक सहकार्यमा गाई तथा भैँसीको दूध उत्पादनमा तापक्रम वृद्धिका कारण हुने क्षतिबाट कृषकलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म (१५० दिन) अवधिमा दैनिक अधिकतम तापक्रमका आधारमा बीमा गणना गरिनेछ। पूर्वनिर्धारित तापक्रम सीमा नाघेमा मात्र क्षतिपूर्ति प्रदान गरिने व्यवस्था गरिएको छ। यो बीमालेख कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैँसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै लागू गरिएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए।
हालसम्म विभिन्न सहकारी तथा समूहमार्फत १,६२७ गाई तथा भैँसी यस बीमा योजनामा आबद्ध भइसकेका छन्। नेपाल बीमा प्राधिकरण बाट स्वीकृति प्राप्त उक्त बीमालेखको पुनर्बीमा नेपाल रि इन्स्योरेन्स मार्फत गरिएको कम्पनीले जनाएको छ।
यो बीमा तापक्रमका कारण उत्पन्न हुने तनावका आधारमा तयार गरिएको हो, जसले गाई तथा भैँसीको दूध उत्पादनमा आउने ह्रासलाई मात्र समेट्नेछ। सुमन घिमिरे का अनुसार तापक्रमको आधिकारिक रेकर्डका आधारमा निर्धारण गरिएको सीमा भन्दा माथि पुगेपछि मात्रै क्षतिपूर्ति लागू हुने र पूर्वनिर्धारित तहअनुसार रकम निर्धारण गरिनेछ।
बीमालेखमा सूचकांकमा आधारित ट्रिगर प्रणाली प्रयोग गरिएकाले दाबी प्रक्रिया पारदर्शी र छिटो हुने कम्पनीको दाबी छ। कृषि विभाग प्रमुख उमेश ढकाले यस्तो प्रणालीले कृषकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने बताए।
तापक्रमसम्बन्धी आधिकारिक तथ्यांक जल तथा मौसम विज्ञान विभाग बाट प्राप्त गरिनेछ। ट्रिगर स्तर पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्ने र सूचकांक प्राप्त भएको सात दिनभित्रै भुक्तानी विद्युतीय माध्यमबाट सिधै कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख शुभाष दीक्षितले जानकारी दिए।
नयाँ प्रविधिमा आधारित यो बीमा योजनाले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम व्यवस्थापन गर्दै दुग्ध उत्पादनमा संलग्न कृषकलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ।






Comment