एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार आफ्नो नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उक्त पोर्टलमार्फत उपलब्ध गराइनेछ। यस पहलले लिलाम प्रक्रियालाई थप पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

बैंकले सञ्चालनमा ल्याएको पोर्टलमार्फत ग्राहकहरूले लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा लोकेशनसम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। साथै, सम्बन्धित सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसमेत समावेश गरिएको बैंकले जनाएको छ।

लिलामसम्बन्धी सूचनामा दिइएको क्युआर कोड स्क्यान गरी वा सोझै पोर्टलमा प्रवेश गरेर ग्राहकहरूले आवश्यक विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको छ। कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो विवरण राखेर सोधपुछ गर्न सकिने सुविधा पनि राखिएको छ।

बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा लिलाममा राखिएका सम्पत्तिहरू तथा सम्बन्धित अन्य सूचना अद्यावधिक गरिनेछ। यसबाट खरिदकर्ताहरूले घरमै बसेर विस्तृत जानकारी प्राप्त गरी निर्णय लिन सहज हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित : 17 April, 2026 11:32 am