निजी क्षेत्रलाई ‘चोर–ठग’ ठान्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्छः सांसद विदुषी राणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निजी क्षेत्रलाई ‘चोर–ठग’ ठान्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्छः सांसद विदुषी राणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा स्वीकार गर्दै यसलाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्ने बताएकी छन् ।

सुरक्षित निजी क्षेत्रः सशक्त महासंघका लागि नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत तर्फका केन्द्रिय उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले आयोजना गरेको नीति संवाद कार्यक्रममा उनले भनिन्, “प्राइभेट सेक्टर भनेको चोर–ठग हो, यो खाली चोरी गर्न मात्र आएको हो भन्ने भाष्य हामीले बनाएका छौं । यो भाष्य अब बदल्नैपर्छ ।”

व्यापारिक पृष्ठभूमिबाट सांसद बनेकी राणाले आफू सदैव व्यापारी र निजी क्षेत्रको साथमा रहेको स्पष्ट पारिन् । “म प्राइभेट सेक्टरबाटै आएकी हुँ । त्यसैले संसदमा म पूर्ण रूपमा प्राइभेट सेक्टरको पक्षमा उभिन्छु,” उनको भनाइ छ । उनले जोड दिएकी छन् – निजी क्षेत्र भनेको सानो नाङ्लो पसल राख्ने पनि हो र ठूलो उद्योग सञ्चालन गर्ने पनि हो । “प्राइभेट सेक्टर नभई नेपालको अर्थतन्त्र चल्दैन । यो इन्जिन हो, मेरुदण्ड हो,” राणाले भनेकी छन् ।

सांसद राणाले निजी क्षेत्रका वास्तविक समस्या र भावनालाई संसदमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्दै न्यूनतम पारिश्रमिक र बढ्दो वैदेशिक पलायनका विषयमा वैज्ञानिक अनुसन्धान गर्नुपर्नेमा जोड दिइन् । “हामीले अहिले झन्डै २० हजार तलब दिइरहेका छौं । ओभरटाइमसहित २५–३० हजारसम्म पु-याउँदा पनि कामदार पाइँदैन । सबै विदेशिन्छन् । एउटा नेपालीले सम्मानजनक जीवनयापन गर्न कति तलब चाहिन्छ ? यो कुराको गहन रिसर्च गर्नैपर्छ,” उनले स्पष्ट पारिन् ।

राणाले पुराना राजनीतिक दलहरूले नीतिगत परिवर्तन ल्याए पनि कार्यान्वयन नगरेको तीखो आलोचना गरिन् । “१०–१२ वर्षदेखि पुराना पार्टीलाई समस्या सुनाउँदा सुनाउँदा पनि केही भएन । नीति बन्यो, तर लागू भएन,” उनले भनेकी छन्, “अब नयाँ, शिक्षित र परिवर्तन चाहने पुस्ता नीति निर्माण तहमा आएको छ । हामी सबैले केही गर्नुपर्छ भन्ने भावनाका साथ आएका छौं ।” उनले अर्थमन्त्रीसँगको छलफलमा पनि निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा दुवैको सहमति रहेको उल्लेख गरिन् ।

प्रकाशित : 8 April, 2026 1:22 pm