काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो ।
यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । यसका साथै, संघीय संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ । समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ ।
जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् । यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ ।






Comment