काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा अझै आबद्ध हुन बाँकी रहेका रोजगारदाता र श्रमिकहरूलाई यथाशीघ्र आबद्ध हुन आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रमिकहरूको सञ्चय कोष तथा उपदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
सोही ऐनको दफा १९ बमोजिम श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गरिनुपर्ने प्रावधान रहेको मन्त्रालयले उल्लेख गरेको छ।
यसअघि नै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गतका संस्थान, निगम, बोर्ड, प्राधिकरण लगायतका निकायहरूलाई पनि कोषमा आबद्ध हुन निर्देशन दिइएको थियो। २०८२ बैशाख १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
तर हालसम्म पनि कतिपय प्रतिष्ठान तथा निकायहरू सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएकाले बाँकी सबै रोजगारदाता तथा श्रमिकहरूलाई तत्काल कोषमा आबद्ध हुन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकहरूले स्वास्थ्य, दुर्घटना, मातृत्व, वृद्धावस्था लगायतका विभिन्न सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्न सक्नेछन्। साथै, यसले श्रमिकहरूको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नुका साथै औपचारिक अर्थतन्त्रको दायरा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले सबै सम्बन्धित पक्षलाई कानुनी व्यवस्था पालना गर्दै सामाजिक सुरक्षा प्रणालीमा जोडिन आग्रह गरेको छ।







Comment