नियम उल्लंघन गर्ने १४ लघुवित्त कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नियम उल्लंघन गर्ने १४ लघुवित्त कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गर्ने १४ लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। पूँजीकोष नपुर्‍याउने, बचतमा न्यून ब्याजदर दिने तथा सुपरीवेक्षकीय प्रणालीमा विवरण नपठाउने जस्ता कमजोरी भेटिएपछि केन्द्रीय बैंकले निर्देशनसहित कारबाही अघि बढाएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ संस्थाको पूँजीकोष तोकिएको न्यूनतमभन्दा कम देखिएको छ। नियमअनुसार लघुवित्तले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत कुल पूँजीकोष कायम गर्नुपर्ने हुन्छ। केही संस्थालाई पूँजी सुदृढीकरण गर्न निर्देशन दिइएको छ भने समस्याग्रस्त घोषित संस्था सुधार प्रक्रियामै रहेको छ।

त्यस्तै, केही लघुवित्तले बचतकर्तालाई दिने न्यूनतम ब्याजदरसम्बन्धी व्यवस्था पनि पालना नगरेको पाइएको छ। कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत बराबर बचत ब्याजदर दिनुपर्ने प्रावधान भए पनि केही संस्थाले कम ब्याजदर कायम गरेका छन्।

सुपरीवेक्षकीय सूचना प्रणालीमा विवरण नपठाउने र न्यून मात्रामा पठाउने संस्थालाई समेत केन्द्रीय बैंकले सचेत गराएको छ। यता, समग्र लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जा अनुपात करिब ९.९९ प्रतिशत पुगेको छ, जसले क्षेत्रको जोखिम बढ्दो देखाउँछ।

राष्ट्र बैंकले सबै संस्थालाई नियामकीय व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिँदै आवश्यक सुधार नगरे थप कडा कारबाही हुने चेतावनी दिएको छ।

प्रकाशित : 1 April, 2026 1:08 pm