काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत समूहबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठ नेतृत्वको समूहबाट चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवारी घोषणा गर्दै ढकालले देशको अर्थतन्त्र सुदृढ बनाउन र व्यवसायीमैत्री नीति निर्माणमा योगदान पुर्याउने उद्देश्यले आफू निर्वाचनमा होमिएको बताएका छन्। उनका अनुसार हाल वस्तुगत संघहरू विभिन्न कानुनी तथा व्यवहारिक समस्याबाट प्रभावित भइरहेका छन्, जसको समाधानका लागि महासंघभित्रबाट प्रभावकारी भूमिका खेल्न आवश्यक छ।
ढकालले वस्तुगत संघका समस्यालाई नीतिगत तहमा उठान गर्दै सरकारसँग समन्वय, बहस र पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महासंघभित्र आफ्नो उपस्थितिलाई यसै दिशामा केन्द्रित गर्ने बताए।
पुँजी बजारको सन्दर्भमा बोल्दै उनले नेपालमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। हाल करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण रहेको पुँजी बजारलाई समग्र अर्थतन्त्रको दर्पणका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।
करिब दुई वर्षदेखि पुँजी बजारसँग सक्रिय रूपमा आबद्ध ढकाल अन्य क्षेत्रमा पनि संलग्न छन्। उनले जलविद्युत, होटल तथा पर्यटन र कृषि क्षेत्रमा समेत लगानी तथा सहभागिता जनाउँदै आएका छन्।






Comment