काठमाडौँ । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
शनिबार बिहान ५:४० बजे भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो।
आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखकमाथि ‘फौजदारी हेलचेक्र्याइँ’ गरेको गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो। प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कसुर हेरी अनुसन्धान, तहकिकात तथा अभियोजन गर्न नेपाल सरकारलाई सुझाव दिइएको छ।
आयोगको निष्कर्षमा गृहमन्त्रीका रूपमा शान्ति सुरक्षा कायम गर्ने सम्पूर्ण जिम्मेवारी लेखकको भए पनि भदौ २३ गते संसद् भवन परिसरमा करिब चार घण्टासम्म गोली चल्दा र मानवीय क्षति हुँदा उनले प्रभावकारी हस्तक्षेप नगरेको उल्लेख छ। हताहतको संख्या बढ्दासमेत सुरक्षा निकायहरूबीच समन्वय गरी ‘सिज फायर’को आदेश नदिएको विषयलाई आयोगले मुख्य कमजोरीका रूपमा औँल्याएको छ।
त्यसैगरी, भदौ २४ मा हुन सक्ने जोखिमको पूर्वानुमान गरी आवश्यक सुरक्षा रणनीति बनाउन नसकेको तथा समयमै दङ्गाग्रस्त क्षेत्र घोषणा नगर्दा देशभर आगजनी र तोडफोडका घटना फैलिएको आयोगले ठहर गरेको छ।






Comment