एक सातापछि भरिएका ग्यास सिलिन्डर बिक्री सुरु हुने, सञ्चिति नगर्न आयल निगमको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक सातापछि भरिएका ग्यास सिलिन्डर बिक्री सुरु हुने, सञ्चिति नगर्न आयल निगमको आग्रह



काठमाडौं । नेपाल आयल निगमले एक सातापछि पुनः भरिएको एलपी ग्यास सिलिन्डर बजारमा उपलब्ध गराउने जनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार ग्यास आयातमा कुनै समस्या नभए पनि उपभोक्ताले अत्यधिक सञ्चिति गर्दा बजारमा असहज अवस्था देखिएको हो।

“ग्यास आयात नियमित भइरहेको छ, तर उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चिति गर्दा समस्या देखिएको छ,” उनले भने, “एक सातापछि भरिएको सिलिन्डर बजारमा पठाउने तयारी गरेका छौँ।”

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। हाल पनि ग्यास आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।

निगमका अनुसार नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ र सोही अनुपातमा आयात भइरहेको छ।

यद्यपि बेलाबखत देखिने अभाव समाधानका लागि दीर्घकालीन पूर्वाधार निर्माण आवश्यक रहेको बताइएको छ।

भट्टले ग्यास पाइपलाइन तथा कम्तीमा ३० दिनको माग धान्ने भण्डारण संरचना निर्माण अत्यावश्यक भइसकेको उल्लेख गरे। पाइपलाइन नहुँदा मात्रै ढुवानीमा वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ।
त्यस्तै, भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले एक वर्षअघि प्रस्ताव गरे पनि अहिलेसम्म प्रतिक्रिया नआएको निगमले जनाएको छ।

दीर्घकालीन पूर्वाधार अभावका कारण बेला–बेला देखिने ग्यास अभाव अन्त्य गर्न सरकारी लगानी र द्विपक्षीय सहकार्य अपरिहार्य देखिएको छ।

प्रकाशित : 24 March, 2026 9:36 pm