काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बहिरा संघसँगको सहकार्यमा चैत ८ गते काठमाडौँमा आयोजित उक्त कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले सहभागीहरूलाई आम्दानी व्यवस्थापन, बचत, वित्तीय सुरक्षा, बैंकिङ सेवा, डिजिटल साक्षरता, स्मार्ट मनी व्यवस्थापन, लगानी, जोखिम तथा प्रतिफलजस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिएका थिए। सहभागीहरूको सहज बुझाइका लागि सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए।
कार्यक्रमको समापन अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी भएको उल्लेख गर्दै आर्थिक सशक्तीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्यलाई निरन्तरता दिने बताएका थिए।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरू अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।






Comment