लघुवित्त क्षेत्रको सुधारका लागि नयाँ कोष आवश्यक : यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त क्षेत्रको सुधारका लागि नयाँ कोष आवश्यक : यादव



काठमाडाै‌ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको लघुवित्त क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग लघुवित्त विकास कोष स्थापनाको प्रस्ताव राखेका छन् । पाचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

“सरकारले विश्व बैंक र एडीबी जस्ता निकायसँग समन्वय गरी एउटा कोष खडा गर्न जरुरी छ । यस कोषमार्फत सहुलियत ब्याजदरमा लघुवित्तलाई रकम उपलब्ध गराउँदा विपन्न वर्गले पनि सस्तोमा कर्जा पाउने र यो ‘विन–विन’ अवस्था हुन्छ,” अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवका अनुसार हाल सञ्चालीत ५१ लघुवित्तमार्फत करिब २७ लाख व्यक्तिले प्रत्यक्ष कर्जा सुविधा लिएका छन् भने कुल कर्जा लगानी ५ खर्ब रुपैयाँ पुगेको छ । बचतको हिस्सा पनि २ खर्ब रुपैयाँ भन्दा माथि रहेको छ । यस क्षेत्रले प्रत्यक्ष रूपमा करिब २२ हजार कर्मचारीलाई रोजगारी प्रदान गरेको उनले जानकारी दिए ।

विगतमा लघुवित्त क्षेत्रमा बहुबैंकिङ, अस्वस्थ प्रतिस्पर्धा र भ्रमपूर्ण प्रचारका कारण केही समस्या देखिए पनि हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको उनले जनाए । यसकारण लघुवित्त क्षेत्र अब पुरानै लयमा फर्कँदै गरेको र स्वस्थ प्रतिस्पर्धाको बाटोमा अगाडि बढिसकेको उनले विश्वास दिलाए । यसैक्रममा संघका अध्यक्ष यादवले लघुवित्त संस्था मात्रै गरिबी निवारणको अन्तिम उपाय नभएको उल्लेख गर्दै राज्यका अन्य निकायसँग समन्वय हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : 22 March, 2026 3:49 pm