काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य लिमा अधिकारी ले पदबाट राजीनामा दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि उनले सोमबार निफ्राबाट बिदा लिएकी हुन्। उनी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष समेत हुन्।
साढे चार वर्ष निफ्राको सञ्चालक समितिमा सक्रिय रहेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा सम्पन्न सातौँ वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।
राजीनामापछि प्रतिक्रिया दिँदै अधिकारीले निफ्रासँगको आफ्नो यात्रालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छिन्। “करिब साढे चार वर्षको बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ। देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि गर्वको विषय हो,” उनले भनिन्।
उनले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका चुनौती समाधान गर्न नीतिगत तथा प्रशासनिक सुधारका पहलमा केन्द्रित हुने बताएकी छिन्। साथै, देशको आर्थिक रूपान्तरणका लागि ठूला तथा गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन निफ्रा अझ सफल हुनेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरेकी छिन्।






Comment