राष्ट्रिय सहकारी बैंकका ११ शाखा गाभिने, चैत १३ देखि नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकका ११ शाखा गाभिने, चैत १३ देखि नयाँ व्यवस्था



ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका आफ्ना ११ वटा शाखा कार्यालयहरू गाभ्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै आगामी चैत १३ गतेदेखि नजिकको शाखा कार्यालयहरुबाट सेवा सञ्चालन गर्ने गरी ११ वटा शाखा कार्यालयहरु गाभिन लागेको जनाएको छ ।

बैंकका अनुसार हाल सञ्चालनमा रहेका केही शाखा कार्यालयहरू एकआपसमा गाभिएपछि सम्बन्धित कारोबार नजिकको शाखा कार्यालयबाट नियमित रूपमा सञ्चालन हुनेछ । सूचना अनुसार ताल्चोक शाखा, पोखरा शाखासँग गाभिने छ । गाभिएपछि पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । तिलोत्तमा र बुटवल शाखा गाभिएपछि सेवा बुटवल शाखाबाट तथा पुतलीबजार र वालिङ शाखा गाभिएपछि सेवा वालिङ शाखाबाट सञ्चालन हुनेछ । त्यस्तै पुतलीसडक र न्यूरोड शाखा गाभिएपछि सेवा न्यूरोड शाखाबाट, मुख्य शाखा (कुपण्डोल), इमाडोल शाखा र लगनखेल शाखा गाभिएपछि सेवा लगनखेल शाखाबाट उपलब्ध हुनेछ ।

यस्तै कालिमाटी र कलंकी शाखा गाभिएपछि सेवा कलंकी शाखाबाट, कोटेश्वर र ठिमी शाखा गाभिएपछि सेवा ठिमी शाखाबाट, नयाँबजार, नारायणगोपाल चोक र गोंगबु शाखा गाभिएपछि सेवा गोंगबु शाखाबाट सञ्चालन हुनेछ ।

त्यसैगरी फिदिम र इलाम शाखा गाभिएपछि सेवा इलाम शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । शाखा मर्जको लागि बैंकलाई नेपाल राष्ट्र बैंकले गत माघ २० गते स्वीकृति प्रदान गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंका अनुसार शाखा समायोजनपछि सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित बनाइ अझ प्रभावकारी सेवा दिने उद्देश्य राखिएको बताए ।

हाल बैंकका ६८ वटा शाखा कार्यालय मार्फत १६ हजारभन्दा बढी सहकारी संघ संस्थाले कारोबार गर्दै आएका छन् । शाखा गाभिएपछि बैंकका ५७ वटा शाखा हुनेछन् ।

प्रकाशित : 12 March, 2026 7:00 pm